पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रूपमा मानिन्छ(पुरा पढ्नु होस्)

सामाचार

हिन्दु धर्मावलम्बीहरुको एउटा महत्वपूर्ण मनोकांक्षा हो, पाथीभरा मन्दिरको दर्शन । पाथीभरा मन्दिरको वरिपरी हिमाल, बीचमा थुम्को, चुलीसम्म भरिएको पाथीजस्तै डाँडा भएकाले पनि यसलाई पाथीभरा भनिएको हुनुपर्छ ।पाथी जस्तै थुम्कोमा रहेको पाथीभरा मन्दिर पुग्न सजिलोचाहिँ छैन । जो पाँच घण्टा उकालो हिँडेर मन्दिरमा पुग्छ, उसले बास बस्न पुनः फेदीमै ओर्लिनुपर्छ । त्यही भएर पनि पाथीभरा मन्दिर पुग्न सोचे जस्तो सजिलो छैन ।

समुद्री सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा लेक लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ ।पूर्वको ताप्लेजुङ्गमा रहेको पाथीभरा मन्दिर नेपालमा मात्र होइन, छिमेकी मुलुक भारतमा पनि चर्चित छ । यो मन्दिरमा बर्सेनि नेपाल तथा भारतबाट एक लाख बढी भक्तजनहरु दर्शन गर्न आउँछन् ।पाथीभरा मन्दिर पुस माघमा हिउँले सेताम्य हुन्छ भने अन्य समयमा पनि मौसम चिसो नै हुने गर्दछ ।

मन्दिर परिसरबाट विश्वको तेस्रो अग्लो हिमाल आँखै अगाडि देख्न पाइन्छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजंघा हिमाल आँखै अगाडि देख्न मात्र होइन, यहाँबाट कुम्भकर्ण हिमाल पनि देख्न सकिन्छ । यसका साथै मन्दिर परिसरबाट ८ हजार मिटरभन्दा अग्लो अर्को हिमाल पनि देख्न सकिन्छ । यो समय मौसम सफा हुने भएकाले पनि हिमाल हेर्नलाई उपयुक्त मौसम मानिन्छ । पाथीभरा मन्दिर परिसरबाट एक सय ८० डिग्रीमा हिमाल हेर्न सकिन्छ ।

पाथीभरा देवीको उत्पतिसम्बन्धी थुप्रै किम्बदन्ती तथा जनश्रुति छन् । परापूर्वकालमा पाथीभरा आसपासका गोठालाहरूले आफ्नो भेँडीगोठ पाथीभरामा राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दादेख्दै ती गोठका बथानका बथान भेँडाहरू अलप भए । त्यस्तो अकल्पनीय घटनाले स्तब्ध भएका गोठालाहरूलाई रातमा देवीले दर्शन दिइन् । आफ्नो उत्पत्तिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलिसहित पूजा अर्चना गर्ने निर्देशन दिइन् ।

आत्मवोध प्राप्त गोठालाहरूले देवीको आकृति उत्पन्न स्थलमा भक्तिभावपूर्वक पूजा अर्चना गरी सबैभन्दा हृष्टपुष्ट भेँडाको थुम्बा बलि दिए । बलि के दिएका थिए ती हराएका सयकडौं भेँडाहरू जस्ताको तस्तै पहिलाकै ठाउँमा देखा परे । त्योभन्दा आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलिस्थलमा झर्नासाथ बालुवामा पानी हराएझैं हराउन पुग्यो । यो देखेर हर्ष एवं आश्चर्य मान्दै गोठालाहरूले देवीको जय जयकार गरे ।पाथीभरा देवीको निम्ति पशु बलि अनिवार्य नभए पनि बलि चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरू देवीलाई स्वादिष्ट फलफूल तथा मिठाईको भोग चढाउँछन् ।पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रूपमा मानिन्छ । त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनहरूले देवीलाई सौन्दर्य प्रशाधनका सामग्री जस्तै सिन्दुर, टीका, गाजल, काँगियो आदि पनि अनिवार्य रूपमा चढाउने गर्दछन् ।

 

Leave a Reply