रोयल्टीवापत एक वर्षमा उठ्यो साढे ५ अर्ब, धेरै आम्दानी विद्युतबाट

सामाचार

२७ माघ, काठमाडौं । नेपालमा विभिन्न प्राकृतिक स्रोतको उपभोगबाट एक वर्षको अवधिमा साढे ५ अर्ब रुपैयाँ रोयल्टी संकलन भएको छ ।
अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा रोयल्टी संकलनबाट कुल ५ अर्ब ४३ करोड ९ लाख ३८ हजार ३ सय रुपैयाँ रोयल्टी संकलन भएको छ । यो रकम तीन वटै तहमा बाँडफाँट भएको छ । मन्त्रालयका अनुसार ५ माघको मन्त्रिपरिषद् बैठकले रोयल्टीवापत उठेको रकम बाँडफाँट गर्ने निर्णय गरेको थियो ।त्यसअगाडि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको सूत्रका आधारमा अर्थ मन्त्रालयले रकम बाँडफाँट गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार संघीय विभाज्य कोषमा एक वर्षभर जम्मा भएको रकमलाई तीन वटै तहका सरकारले पाउनु पर्ने विभाजन अन्तर्गत बाँडफाँट गरिएको हो । मन्त्रिपरिषदको निर्णयसँगै अर्थले बाँडफाँट भएको रकम निकासा गर्न महालेखा नियन्त्रक कार्यालयलाई पत्रसमेत काटिसकेको छ ।

कुन तहको सरकारले कति पाए रोयल्टी ?

नेपाल सरकार : २ अर्ब ९९ करोड ७७ लाख ९१ हजार ७ सय २२

प्रदेश सरकार : १ अर्ब २१ करोड ६५ लाख ७३ हजार ३ सय १९

स्थानीय सरकार : १ अर्ब २१ करोड ६५ लाख ७३ हजार ३ सय १९

सबैभन्दा बढी आम्दानी विद्युत रोयल्टीबाट

महालेखा नियन्त्रक कार्यालयको विवरण अनुसार एक वर्षको अवधिमा बाँडफाँट भएको रोयल्टीबाट सबैभन्दा ठूलो रकम विद्युत रोयल्टीवापत संकलन भएको हो । तथ्यांक अनुसार विद्युत रोयल्टीबाट मात्र २ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

Leave a Reply