६ छोरीलाई सरकारी जागिरे बनाउने बुबा-आमाको संघर्षको कथा, परिवारै सरकारी जागिरमा

जिबनशैलि

खोटाङ, विदुर भट्टराई रिटायर्ड सरकारी अधिकृत हुन्, उनका छ छोरी र पाँच जुवाइँ पनि सरकारी जागिरे छन् । तीन छोरी उपसचिव भइसकेका छन् त्यसैगरि दुई छोरी शाखा अधिकृत र एक छोरी सुब्बा रहेका छन् ।तीन छोरी जन्मेपछि परिवार नियोजन गर्न भनेर हिँडेका विदुर भट्टराईलाई कान्छी फुपूले रोकेकि थिइन् । छोरीले मात्र पुग्छ र खोइ छोरा रु उनकी फुपूको प्रश्न? थियो । भट्टराईका आमाबुबा पनि तीन छोरीले मात्र सन्तुष्ट थिएनन् । एउटा नाति त चाहियो’ भन्ने उनीहरूलाई पनि लाग्थ्यो, चार दशक अघिको कुरा हुन् ।

खोटाङ लामिडाँडामा जन्मेका विदुरले तीन वर्ष गाउँकै निमाविमा शिक्षक भएर काम गरेका थिए । त्यतिबेला गाउँको परिवेश सरकारी जागिरप्रति निकै आकर्षित रहेको थियो । शिक्षकको जागिर भन्दा निजामती सेवामा जानुपर्छ भन्ने विदुरलाई पनि लागेको थियो । आमाबुबाको चाहना अनुरूप २०३४ सालमा उनी खरिदारबाट सरकारी जागिरमा पसेका थिए । सप्तरी, राजविराजमा भूमि सुधार कार्यालयमा उनको पहिलो जागिर शुरु भएको थियो । उनी सुब्बा हुँदै अधिकृत सम्ममा पुगे । केही वर्ष अघि अधिकृत पदबाटै रिटायर्ड भइसकेका हुन् ।

उनी छोराछोरीबीच खासै विभेद कहिल्लै देख्दैनथे, तर परिवार, छरछिमेकले उनीबाट छोराको चाहना राखेको राम्रोसँग बुझेका थिए । अरूका लागि भए पनि छोरा जन्माइदिनुपर्ने बाध्यता र सामाजिक दबाब उनीमाथि रहेको थियो । उनकी पत्नी गंगादेवीले पनि छोरी मात्र जन्माउँदा निकै गुनासो सुन्नु परेको थियो । छोराकै आशमा छ बहिनी छोरी जन्मिएकि हुन् । छोरा पर्खंदा- पर्खंदा छोरी जन्मे पनि भट्टराईका जोडीमा कहिल्यै दुःखी भएनन् ।उनले छोरीहरूलाई पढाउने दृढ संकल्प गरिसकेका थिए । गंगादेवीलाई अरूका लागि छोरा जन्माइदिन नसकेकोमा धेरै दुःखि महशुस लाग्थियो । आफ्नै गल्तीले परिवारको चाहना अनुसार छोरा जन्माउन नसकेको हो कि? जस्तो उनलाई लाग्थ्यो ।
छ कक्षामा पढ्दै गर्दा १४ वर्षमै उनको विवाह भएको थियो । उनी १६ वर्षकी हुँदा जेठी छोरी जन्मिएकी थिइन् । २१ वर्षको उमेरसम्म पुग्दा उनले तीन छोरी जन्माइसकेकी थिइन् । उनी भन्छिन्, तीनटी छोरी जन्मेपछि बल्ल आमा भएको महसुस गरेँको थिए ।

श्रीमान् को मात्रै जागिरमा रमाउन नचाहने उनी छोरीहरूलाई काममा भन्दा पढ्नमा जोड दिन थालिन् । सानैदेखि लगनशील, अनुशासित बन्न छोरीहरूलाई सिकाउथिन् । आफूले पढ्न नपाए पनि छोरीहरूलाई पढाएर देशको सेवा गर्ने मान्छे बनाउने इच्छा उनको थियो । उनको इच्छा पूरा भएको अहिले परा भएको छ । गंगादेवी भन्छिन्, देश बनाउने छोरी बनून्, देशका सबै छोरीहरू विद्वान बनून्, हामिलाई छोरा र छोरीमा केही फरक छैन ।

विदुर आफैँ सरकारी जागिरे भएकाले उनले सरकारी जागिरको महत्व बुझेका थिए । त्यसैबेला महिला विकास कार्यालय धनकुटामा मुख्य महिला कार्यकर्ताको जागिर खुलेको थियो । उनले छोरीलाई अह्राए । ठूली छोरी विष्णुले अस्थायीमा नाम निकालिन् । त्यतिबेला उनको परिवार खोटाङबाट सुनसरी बसाइँ सरेका थिए । ठूली छोरी पोशाक लगाएर अफिस जाँदा अरू छोरीहरूलाई प्रेरणा मिलेको भट्टराई बताउँछन् ।

उनका अनुसार ठूली छोरीले जागिर खान थालेपछि अरूले पनि देखासिकी गर्न थालेका थिए । अरू छोरीहरूले पनि जागिर खानुपर्छ भन्ने सोच्न गर्न थाले, गंगादेवीले भन्छिन् ।भट्टराईलाई कुनै ठूला मान्छेसँग झुकेर, भनसुन गरेर छोरीहरूलाई जागिर खुवाउन मन थिएन । आफ्नै बलबुताले जागिरमा प्रवेश गरून् भन्ने उनको ठुलो इच्छा छोरीहरूले पूरा गरिदिए । ‘स्वदेशमै संघर्ष गरेर छोरीहरूले देशको सेवा गरून् भन्ने उनले सोच्थेँ । मेरो इच्छा उनीहरूले पूरा गरिदिए,’ विदुर भन्छन्,‘छोरा जन्माइनस् भन्नेलाई छोरीहरूले गतिलो झापड दिएका छन् ।’

दिदीको बाटोमा सबै बहिनी

उनको परिवारमा रहेकि पढाइमा मेहनती छोरीहरूले पालैपालो लोकसेवा आयोगको परीक्षा दिए र नाम निकाल्दै गए । बहिनी निजामती सेवामा प्रवेश गरे, तीन छोरी उपसचिव भइसकेका छन् भने दुई छोरी शाखा अधिकृत र एक छोरी सुब्बा छन् । ‘पैसा कमाउन,पढ्न विदेश जाने चलनलाई हाम्रा छोरीले पछ्याएनन्,’ विदुरले भन्छन् ।उनले विदेश जाने ज्वाइँ कहिल्यै रोजेनन्, विदेश बस्न रुचाउनेलाई छोरी माग्न आउँदा पनि दिएनन् । ‘छोरीहरूले देशसेवा गरिरहेका छन्, ज्वाइँ पनि त्यस्तै होऊन् भन्ने उनि चाहन्थेँ,’ विदुर भन्छन् ।

उनले सोचे जस्तै भयो, उनका पाँच जना ज्वाइँ निजामती कर्मचारी नै छन् । एक जना प्राइभेट बैंकमा कार्यरत छन् । घरमा दिदीबहिनीको भेट हुँदा प्रशासनिक, राजनीति, समसामयिक विषयमा सधै छलफल हुन्छ । चार्डबार्डमा छोरीज्वाइँ घरमा आउँछन् ।सबै निजामती कर्मचारी भएकाले सबैको बिदा एकैदिनमा मिल्छ, बिदामा सबै जना घुम्न जान्छन् । भट्टराई दम्पती छोरीहरू अझै ठूलो पदमा पुगेर देशको सेवा गरून् भन्ने चाहना राख्छन् । नातिनातिना हेरिदिएर छोरीहरूको काममा उनीहरूले सघाउने गरेका छन् ।

मेरा छ जना छोरी सेतो सर्ट, नीलो प्यान्टमा ठाँटिएर अफिस जाँदा भट्टराई दम्पती गर्व महसुस गर्छन् । छोरी मात्र होइन, उनका पाँच जना ज्वाइँ पनि निजामती सेवामै कार्यरत छन् । छोरीहरू पालैपालो सरकारी जागिरमा प्रवेश गर्दा घरको वातावरण नै अध्ययनशील बनेको उनीहरू बताउँछन् । एकपछि अर्को छोरीले पहिलो प्रयासमै निजामतीमा प्रवेश गरेको देख्दा गर्व गर्छन् भट्टराई दम्पती ।

विदुरको चाहना रहेको छ, छोरीज्वाइँले आफ्नो कामको दायित्व अनुसार निष्पक्ष तरिकाले जनतालाई सेवा दिन सकून्, कुनै आर्थिक प्रलोभनमा नपरी देशको सेवा गरून् । सामान्य रूपमा जीवन गुजाराका लागि सरकारले तलब दिएको छ । कुनै पनि आर्थिक प्रलोभनमा नपरी मेरा छोरीज्वाइँले जनतालाई छिटो छरितो सेवा दिऊन् मेरो इच्छा यति नै रहेको छ ।

सरकारी जागिरे छोरीहरू

विष्णुकुमारी भट्टराई (जेठी) : प्रमुख, पाँचखाल नगरपालिका काभेपलान्चोक उनी सानैदेखि नेतृत्व लिने स्वभावकी थिइन् । उनले २०४९ देखि अस्थायी बनेर सरकारी सेवामा प्रवेश गरिन् । तीन वर्षसम्म धनकुटामा मुख्य महिला कार्यकर्ता बनेर अस्थायी रूपमा काम गरिन् । २०५५ सालदेखि खरिदारबाट लोकसेवा पास गरी निजामतीमा प्रवेश गरेकी हुन् । उनको पहिलो जागिर गोश्वारा हुलाक कार्यालय सुन्धाराबाट शुरु भएको हो ।

हाल उनी नयाँ संरचना अनुसार बनेको नगरपालिका प्रमुख हुन् । उनका श्रीमान् चन्द्रप्रसाद फुँयाल उपसचिवबाट अवकाश पाईसकेका छन् । उनले सोलुखुम्बुमा सहायक प्रमुख जिल्ला अधिकारी बनेर डेढ वर्ष काम गरिन् । घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरमा प्रमुख बनेर काम सम्हालि रहेकेकी छिन् ।

विन्दा आचार्य (माइली) : उपसचिव
२०५५ सालमा मुखिया पदबाट जिल्ला हुलाक कार्यालय ललितपुरबाट काम शुरु गरेकी थिइन्, उनले स्वास्थ्य मन्त्रालय, पर्यटन कार्यालय सोलुखुम्बु नाम्चेमा कार्यालय प्रमुख रहेर काम गरिसकेकी छिन् । उनका श्रीमान् गणेश आचार्य उपसचिव हुन् ।

रमा भट्टराई (साइँली) : उपसचिव
खरिदार पद गोश्वारा हुलाक कार्यालय सुन्धाराबाट सरकारी जागिरमा प्रवेश गरेकी हुन्, रमाले । उनले वर्गेन युनिभर्सिटीबाट मास्टर्स इन पब्लिक एडमिनिस्ट्रेसन सकेकी छिन् । यसअघि राष्ट्रिय योजना आयोगमा काम गरिसकेकी उनले वैदेशिक रोजगार विभागमा समेत काम गरेकी थिईन, उनका श्रीमान् कोषहरि निरौला मोरंगको प्रमुख जिल्ला अधिकारी हुन् ।

रेनु भट्टराई (काइँली) : शाखा अधिकृत
रेनुले भने सिन्धुपाल्चोक जिल्लामा गाविस सचिवमा जागिर शुरु गरेकी थिइन् । उनले शाखा अधिकृतबाट सरकारी जागिरमा प्रवेश गरेकी हुन् । हाल उनी करदाता सेवा कार्यालय न्यूरोडमा कर अधिकृतको रूपमा कार्यरत छिन् । उनका श्रीमान् चिरञ्जीवी तिलम्सिना उपसचिव हुन् ।

अनु भट्टराई (राइँली) : नेपाल एयरलाइन्समा अकाउन्टेन्ट पदमा कार्यरत छिन्, दिदीहरूको प्रेरणाले सरकारी जागिरमा प्रवेश गरेकी उनी पहिला विराटनगरमा सहकारी सञ्चालन गरेर बसेकी थिइन् । दिदीबहिनीको प्रेरणाले एक वर्षअघि सरकारी सेवामा आएकी हुन् । उनका श्रीमान् विराटलक्ष्मी बैंक चन्द्रगढी, झापामा म्यानेजरका रूपमा कार्यरत छन् ।

जुनु भट्टराई (कान्छी) : सुब्बामा छिन उनका श्रीमान् मिलन कार्की शाखा अधिकृत छन् ।

Leave a Reply