नेपाल पक्ष छाडेर सांसद कृष्णभक्तले भने- अब मूलधारमा लागेँ, गल्ति भए माफ पाउँ

सामाचार

काठमाडौं । माधव नेपाल पक्षका प्रभावशाली सांसद कृष्णभक्त पोखरेल आज संसदीय दलको बैठकमा उपस्थित भएर केपी ओली नेतृत्वको मूलधारमा लागेको घोषणा गरेका छन् ।एमालेका वरिष्ठ नेता माधव कुमार नेपालका विश्वासपात्र मानिने सांसद कृष्णभक्त पोखरेल ओलीतिर लागेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एमाले संसदीय दलको बैठकमा सहभागी भएका उनले नेपाललगायतले पार्टी फुटाउन खोजेकाले आफू सो समूह छाडेर ओलीतिर लागेको बताए ।

दलको बैठकमा बोल्दै पोखरेलले फागुन २३ को फैसलापछि सबैभन्दा खुसी मनाउनेमा आफू पनि रहेको भन्दै गौरवशाली पार्टी एमाले,जबज र सूर्य चिन्ह पाएपछि आफू केपी ओलीको अभियानलाई सघाउन पूरानो समूह त्यागेर आएको बताए । ‘नेपालहरुले पार्टी फुटाउन लाग्नु भएकोले मैले उहाँहरुलाई छोडेर यता आएको छु । मुलुकको आर्थिक समृद्धि केपी ओलीको नेतृत्वमा मात्र सम्भव छ भन्ने पक्षमा उभिएको छु । एमाले र जबज नै प्रमुख कुरा हो’, उनले बैठकमा भनेको एक नेताले बताए ।

उनले भने- छुट्टै दलको बैठक बस्नुपर्ने कुरा सकियो । म अब मूलधारमा लागेँ,यसबीचमा कहिँ कतै गल्ति भएको भए माफ पाउँ । मेरो गुरु सुवास नेम्वाङलाई मैले भने संसद विघटनमा मेरो असहमति थियो । अब सम्बृद्ध नेपाल बनाउन केपी ओलीको अभियानलाई साथ दिन र पार्टी एकताको लागि म यहाँ आएको छु ।

 

Leave a Reply