किरण गजमेर : देश खोज्दै गुञ्जिरहेको आवाज…

सामाचार

कुनै सिनेमाको प्लट जस्तै चाखलाग्दो कहानी छ, किरण गजमेरको । उनका पिता भुटानबाट लखेटिएर आफ्नो मूलथलोमा शरण लिन आइपुग्छन् । सम्पूर्ण जायजेथा  मात्र होइन, जीवनका योजना र सपना पनि उतै छाडिन्छन् । भाग्दै, लुक्दै मातृभूमिसम्म आइपुग्दा उनीसँग सुदूर अतीतका स्मृतिहरु मात्र बाँकी रहन्छन् । रित्तो हात, रित्तो जीवन, रित्तो सपना ।

झापाको खुदुनाबारी शिविरबाट अब नयाँ जीवनको थालनी गर्नुपर्ने हुन्छ । शरणार्थी शिविरमै उनको घरजम हुन्छ । त्यही शिविरमा जन्मिन्छन्, किरण

कस्तो विडम्बना ! जन्मँदै अनागरिक ।

एउटा अबाेध बच्चाको न निश्चित भूगोल छ, न भविष्य । न स्थायी चिनारी नै छ, न दिगो जीवन । बस्, उनका लागि त्यही झुपडी नै सम्पूर्ण संसार । त्यही संसारमा खेल्छन्, हुर्कन्छन् । उनलाई थाहा छैन, आफूले लडिबुडी गरेको यो आँगन, यो माटो एकदिन बिरानो हुनेछ ।

एकदिन आफू जन्मिएको घर, आफूले खेलेको आँगन, आफूसँग रमाउने दौंतरी सबै छाडेर जानुपर्ने हुन्छ । शरणार्थीकै रुपमा उनी आमाबुवासहित अमेरिका पुग्छन् । अमेरिका, जसले उनलाई भौतिक सुखसयल दिन्छ । तर, असली चिनारी दिंदैन । आखिर त्यहाँ पनि उनी परदेशी हुन् ।

उनी आफ्नो असली चिनारी खोज्दै जन्मभूमि फर्कन्छन् ।

गायकीले उनलाई आफ्नोपन र अपनत्वको बोध गरायो । नेपाली कला–संगीतकै आलोकमा उठेर यश कमाउने मनसाय राखे । उनी यतिबेला ‘भ्वाइस अफ नेपाल’को स्टेजबाट बेग्लै चिनारी खोजिरहेका छन् ।

अमेरिका : एउटा सपनाको बीजारोपण

कति रात शिविरमा भोकै सुतेर त कति दिन खाली खुट्टा हिंडेर किरणले करीब १४ वर्ष शरणार्थी शिविरमा बिताए । न उनी आफूलाई गर्वका साथ नेपाली भन्न सक्थे न त भुटानी नै । तर, एक दशक अगाडि एकाएक शिविरमा बस्दै आएका शरणार्थीहरुको भाग्य बदलियो । अमेरिका लगायत विभिन्न ८ देशले आफूहरुले संरक्षण दिने भनेपछि किरणको परिवार अमेरिका पुग्यो ।

अमेरिका पुगेपछि किरणको जीवनस्तर फेरियो । खुट्टामा राम्रो चप्पल लगाउन नै मुश्किल पर्ने किरण चम्किला कारमा सयर गर्छन् । तर, उनको मन यसमै रमाएन । अमेरिका पुगेपछि पनि उनले गीतसंगीत कम्पोज गर्न थाले । किरणका स्वरहरु गुञ्जन थाले, औंलाहरु गितारका तारमा सलबलाउन थाले ।

तर, आफ्नो देशभन्दा सयौं काेस पर बाध्यताले बस्नुको पीडा किरणले राम्रोसँग बुझेका छन् । उनी भन्छन्, ‘मेरो जीवनस्तर आज निकै राम्रो छ । तर, नेपाल र नेपालीको माया सधैं नै मेरो शिरमा छ । नेपालीत्व बिर्सन हुँदैन भन्ने मलाई लागेपछि मैले संगीतलाई साथै हिंडाएको छु । उसो त म मेडिकल पढिरहेको विद्यार्थी हुँ । तर, संगीतले मलाई जुन बाटोमा डोर्‍याएको छ, यसले आनन्दको अनुभूति हुन्छ ।’

किरणले ‘रातको चन्द्रमालाई’ बोलको गीत गाएपछि भने अफरको ताँती नै लागेको थियो । उनले  ‘राधा, साढे ७’ लगायतका चलचित्रमा गीत गाएका छन् । इमेज अवार्ड, कालिका एफएम अवार्ड लगायतका चर्चित अवार्ड पाएका छन् ।

अमेरिकाबाट ‘द भ्वाइस अफ नेपालमा’

ब्लाइन्ड अडिसनमा ‘देखेर तिमीलाई’ बोलको गीत गाएपछि किरणले पाएको प्रशंसा र साथले उनलाई उत्साहित बनाएको छ । किरण हर्षित भावमा भन्छन्, ‘अहिले विश्वमा नेपाल हरेक ठाउँमा छ । संसारभर छरिएर रहेका नेपालीभाषीहरुको आवाज बन्न सकुँ भन्ने उद्देश्य मेरो थियो । हामी एउटै आमाकाे दूध पिएर अलग भएका सन्तति हौं । हामी भुटान गयौं, फेरि नेपाल आयौं अनि अमेरिका पुग्यौं । हामी कतै न कतै यो देशसँग छुटेका छौं । मलाई नेपालीहरुको भाइचारा टाढिंदै गएको छ भन्ने महसूस भएको थियो । यहाँ म मेरो स्वर सुनाउन मात्र होइन, हामी छुटेका सन्तानहरुलाई भ्वाइस अफ नेपालको स्टेजमार्फत एकत्रित गराउन आएको हुँ ।’

किरण आफू पछिका सन्तानलाई पनि नेपाल र नेपालीत्व छाड्न चाहन्छन् । उनले यो शक्ति संगीतमा मात्र देखेका छन् । भन्छन्, ‘शायद, म मर्ने नै अमेरिकामा होला । तर, हामी नेपाली हौं र नेपाली भाषा, संस्कृतिको माया सधैं हुनुपर्छ भनेर देखाउन चाहन्छु । द भ्वाइस अफ नेपालबाट बोलेपछि संसारले मेरो मनको भावना सुन्नेछ भनेर नै म यहाँ आएको हुँ ।’

विदेशी हो, विदेशमै भाग्छ भन्दा दुःख लाग्छ

आफ्नो सपना साकार पार्दै गरेका किरणले द भ्वाइस अफ नेपालको यात्रा गर्दैगर्दा आरोप पनि खेपेका छन् । उनलाई विदेशी हो, विदेश भागिहाल्छ नि भनेर कुरा काट्नेदेखि तल खसाल्न लाग्नेहरुको पनि कमी छैन । तर, किरण प्रतिबद्धता व्यक्त गर्दै भन्छन्, ‘मैले यही नै सोचेको भए त अमेरिकामा सुखको जिन्दगी बाँचेको थिएँ, किन भ्वाइस अफ नेपालमा आउथे‌ं र होइन ? मेरो सपना यो मात्र होइन । नेपाली संगीतमै अगाडि बढ्ने र संगीतको माध्यमबाट विश्वमाझ नेपाली भाषा र संस्कृतिलाई फैलाउने मेरो सपना हो । यो सपनाबाट म कहिल्यै पनि विचलित हुनेछैन ।’

किरणले भ्वाइस अफ नेपालको स्टेजमा उभिएर टीभीमा देखिंदा नै आफू प्रसन्न भएको सुनाए । तर, यो कुरा स्वार्थी आँखाले हेर्दा मात्र सोच्न सकिने उनको तर्क छ । किरण आफूले यो ताज जित्दै गर्दा आफ्नो भावी पुस्तालाई पनि एउटा बलियो उदाहरण बन्ने बताउँछन् ।

१२ वर्षपछि भ्वाइस अफ नेपालकै लागि आठ महीनादेखि नेपालमा रहेका किरण कति नेपालीले अमेरिकामा आफू नेपाली हुँ भनेर सुनाउँदा लाज मान्ने बताउँछन् । तर, आफूलाई कसैले नेपाली भनेर भन्दा गौरव लाग्ने उनले बताए ।

अमेरिकामा मेडिकल पढ्दै गरेका सुरिलो स्वरका धनी किरण आफूले भ्वाइस अफ नेपालकै लागि नेपाल आउँदा धेरै कुरा गुमाएको सुनाउँछन् । तर, बाहिर जस्तो आलोचना भए पनि यसलाई उनले शुरुवात मात्र भनेका छन् । लामो यात्रा गर्न चाहने यात्रीले बाटोमा थुप्रै हन्डर सहनुपर्छ भने जस्तै उनले पनि गन्तव्यको शुरुवातमा थकान महसुस गर्दै यात्रा अगाडि बढाएका छन् । तर, उनमा जोश र साहस उस्तै छ । आफूलाई विदेश भाग्छ, संगीतमा केही गर्न सक्दैन भन्नेहरुको सोच गलत सावित गर्ने दृढ विश्वास उनमा छ ।

गायक प्रमोद खरेलको टिमबाट फाइनलमा पुगेका किरण प्रमोदको गीत गाउने शैलीसँग आफ्नो शैली मिल्ने भएकाले उनलाई कोचको रुपमा रोजेको बताउँछन् । भ्वाइस अफ नेपालमा सहभागी हुनुपूर्व उनले करणराज कार्कीसँग गायनको तालिम समेत लिएका थिए । करणकै रोजाइमा किरणले ब्लाइन्ड अडिसनमा ‘देखेर तिमीलाई’ बोलको गीत गाएका थिए । भ्वाइस अफ नेपालको यात्रामा किरणले संगीतभित्रको प्राविधिक कुराहरुलाई मज्जाले केलाउने अवसर पाएका छन् ।

मैले जित्दा टिम प्रमोदका सोह्रै जनाले जित्छन्

कोच प्रमोदको टिमबाट लाइभ राउन्डमा पुगेका रवि गहतराज र किरण गजमेरबीच चर्को प्रतिस्पर्धा चल्यो । रवि र किरण दुवै फाइनलसम्म पुग्न सक्ने प्रतिस्पर्धी रहेको भन्दै सामाजिक सञ्जालमा बहस पनि भयो ।

किरण रवि बाहिरिंदा आफूलाई पनि दुःख लागेको बताउँछन् । उनी भन्छन्, ‘बाहिर जस्तो चर्चा चले पनि म र रवि मिल्ने साथी हौं । एउटै थालमा खाना खाने, एउटै कोठामा सुत्ने हामीबीच कहिल्यै पनि नराम्रो भएन । मैले जित्दा त्यो रविले नै जितेको हुनेछ । किनकि, घामको अस्तित्व किरणमा छ र किरणको अस्तित्व घाममा छ । भोलि मैले ट्रफी जिते भने त्यो ट्रफीको हकदार टिम प्रमोदका सोह्रै जना साथीहरु हुनेछन् ।’

किरणले आज विश्वभरबाट माया पाएका छन् । भावुक स्वभावका यी प्रतिभा आफूले विश्वरभर रहेका नेपालीभाषीहरुको परिवारलाई भेट्ने सपना बोकेर आएको र त्यो सपना पूरा भएकोमा खुशी व्यक्त गर्छन् । ‘देशले नै निकालिदिएको बिरुवाबाट फलेको फल हुँ म’, उनले भने ।

आफ्नो स्वरमा नेपालीपन भेटिएकाले नै यति धेरै माया पाएको आभास उनलाई हुने गरेको छ । यसैले त किरण, प्रस्तुति दिनुभन्दा पहिले विश्वभरका नेपालीको आशा आफूमाथि रहेको र त्यसलाई मर्न दिनुहुँदैन भन्ने सोच बोकेर गाउँछन् । आफ्नो मनबाट निस्किएको पीडा विश्वभर रहेका नेपालीको मनले सुनेको महसूस उनले गरेका छन् ।

किरणलाई अब नेपाली नागरिकता पाउँछु भन्ने आशा छैन । तर, विश्वभरका नेपालीलाई एकसाथ जोडेर मर्न सकेको खण्डमा आफूले नागरिकता पाए सरह हुने उनको भनाइ छ ।

हामीले शुरुवातमा भने जस्तै, किरण एउटा धारिलो हतियार हुन् । जसले हजारौं चोट र ताप सहेर यो आकार पाएको छ । नेपाली सांगीतिक क्षेत्रको सुनौलो आकाशमा चम्किने अभिलाषा बोकेर देशकै चर्चित रियालिटी शोमा गुञ्जिरहेको यो आवाज कति टाढासम्म सुनिएला ? के किरणले देखेका सपना र भोगेका पीडाहरुले भोलिको दिनमा सुनौलो गन्तव्य समाउलान् ? विगतमा दूर क्षितिजबाट विलाउँदै गरेको त्यो घामले भोलि सुनौलो ताप बनेर विश्वलाई नै संगीतको न्यानो आभास गराउला त ? किरण मात्र होइन, उनलाई माया गर्ने नेपालीहरु यही प्रश्नको जवाफको प्रतीक्षा गरिरहेका छन् ।

किरणको हातमा अमेरिकाको पासपोर्ट छ । उनी अमेरिकी नागरिक बनेका छन् । तर, उनलाई यसले सन्तुष्टि दिएको छैन । हजारौं मानिसका लागि सपना बनेको अमेरिका किरणका लागि पानीपँधेरो बनेको छ, आफ्नै घर बनेको छ । तर, पनि उनी आफूलाई देशविनाको नागरिक सोचिरहेका छन् ।

जतिबेला नेपालका राजा राम शाह र भुटानका राजाबीच कानूनी रुपमा नै नेपाली कामदारहरु भुटान लैजान पाउने सहमति भयो, सोही समयमा धेरै नेपाली काम गर्नका लागि भुटान पुगे । भुटानमा नेपालीहरुको बाहुल्य बढ्दै गयो । जताततै नेपाली पहिरन, भेषभूषा, भाषा र संस्कृति झल्कदै गर्दा भुटानको अस्तित्व नै संकटमा पर्ने त्यहाँको सरकारले महसूस गर्न थाल्यो । यसपछि, भुटान सरकार र नेपाली समुदायबीच पहिचान, भाषा र पोशाकको विषयमा बहस शुरु भयो । यसले भुटान सरकार र नेपाली समुदायबीच द्वन्द्व र राजनीतिक कलहको अवस्था सिर्जना गर्‍यो। नेपाली संस्कृति र पहिचान बिर्सिएर भुटानी पोशाक र पहिचान स्वीकार गर्न नेपालीहरु तयार हुने कुरै थिएन । नेपालीहरुलाई भुटान सरकारले देशनिकाला गरिदियो । रातारात आफ्नो सम्पत्ति, जग्गा जमीन सबै छाडेर नेपालीहरु नेपाल फर्किए । यसपछि उनीहरु सबैथोक त्यागेर पूर्वको माई खोलाको बगरमा आएर बस्न बाध्य भए ।

गाँस, बास र कपासको राम्रो व्यवस्था नहुँदा कैयौं नेपालीले माई खोलामै प्राण त्याग गरे । केही समयपछि विभिन्न ७ एनजीओ र आईएनजीओहरुले भुटानी शरणार्थीको ट्याग दिंदै उनीहरुका लागि शिविर बनाए । सोही समयमा गोलधापमा रहेकी किरणकी आमा र खुदुनाबारीमा रहेका किरणका पिताबीच विवाह भयो ।

किरण खुदुनाबारीको शिविरमा नै जन्मिए । शरणार्थी शिविरमा जन्मिएको उनको बाल्यवस्था भौतिक सुखमा बित्ने कुरै थिएन । अभावै अभावमा जिन्दगी जिउनु परे पनि बाल्यकालमा किरण निकै खुशी थिए । तर, धेरै कमलाई मात्र थाहा थियो कि सो हिलोमा एउटा सुन्दर कमल किरण नाममा फुल्दै थियो ।

किरणले पहिलो पटक गीत गाएको स्मरण गर्दै भने, ‘मैले स्कूलमा हुँदा गाउने रहेछु । सबैले राम्रो भनेपछि खुशी लाग्थ्यो । शायद, सोही समयमा नै ममा गीतप्रतिको मोह बढेको हुनुपर्छ ।’

सन् २००५ मा किरणको स्वरमा पहिलो पटक बाल गीत रेकर्ड भएको थियो । भुटानी शरणार्थी बाल मञ्च भन्ने संस्थाले बालगीत रेकर्ड गराइदिंदा खुदुनाबारीबाट किरण छानिएका थिए ।

Leave a Reply